सरकारी गाडीमा तोडफोड गर्ने जनमत पार्टीका सात कार्यकर्ता पक्राउ

164

जनकपुरधाम । राष्ट्रियसभा चुनाव बिथोल्ने तथा सरकारी गाडीमा तोडफोड गर्ने जनमत पार्टीका सात जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरमा भएको राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुन आउने प्रदेश सांसद तथा पालिका प्रमुखको गाडी तोडफोडमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम अहिलेसम्म खुलेको छैन ।

जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुङ्गामुढा प्रहार गर्दा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य अशोक यादव सवार गाडी क्षतिग्रस्त बनेको छ । त्यसैगरी, सर्लाही हरिवनका मेयर गणेश प्रसाईं चढेको प्रदेश २–०३–०१ झ ००२० मा तोडफोड गरिएको छ ।

त्यसैगरी प्रदेश २–०१ झ ००८० र ना १ झ १६७४ नम्बरको गाडीसहित सात वटा गाडीमा उनीहरूले तोडफोड गरेर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

जनमतका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन् । बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सतिश साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका थिए । उनको मुखमा ८ वटा टाका लागेको छ । पक्राउ परेकामाथि मुद्दा चलाउने तयारी भइरहेको रजौरले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...