काठमाडौँ । अधिवक्ता दिनेश त्रिपाठीले एउटै मितिमा तीनै तहको निर्वाचन गर्न नमिल्ने बताएका छन् ।
शनिबार रिपार्टर्स क्लब नेपालले आयोजना गरेको ‘निर्वाचन केन्द्रित’ साक्षात्कारमा बोल्दै उनले भने,“एउटै मितिमा तीन तहको निर्वाचन व्यस्थापकीय दृष्टिकोणले पनि उचित छैन । हामीले स्थानीय तहको निर्वाचन नै तीन चरणमा गनुपर्यो । एउटै मितिमा तीन तहको निर्वाचन गर्ने कुरा संवैधानिक र व्यवहारिक रुपमा सम्भव छैन । यो प्रस्ताव कपटपूर्ण देखिन्छ ।”
स्थानीय तह निर्वाचनको मिति तोक्ने बेला आइसकेको सुनाउँदै सरकारले यसमा ढिलाइ गर्न नहुने धारण राखे । “यो त संवैधानिक र कानुनी वाध्यता छ । जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनैपर्ने संवैधानिक व्यवस्था छ । अब आएर तीन तहको निर्वाचन एकै चरणमा गर्ने भनेर कुरा गर्नु यो षड्यन्त्र हो । संविधानले स्थानीय तहमा जनप्रतिनिधिविहीन कल्पना गरेको छैन । जेठ ५ गते स्थानीय तहको कार्यकाल सकिँदै छ । संविधानको धारा २२५ को मर्मअनुसार चल्नुपर्छ,” उनले भने ।
उनले ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउनुपर्छ भन्ने संविधानको परिकल्पना नभएको जिकिर गरे । उनले भने, “स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गरियोस् । हामी लोकतन्त्रलाई छलकपट बनाएको हेर्न सक्दैनौँ । मिति तोक्ने अधिकार निर्वाचन आयोगले हो । दलहरुले आफ्नो अनुकुलमा चुनाव गराउने र आफ्नो प्रतिकुलतामा नगराउने गर्नुहुन्न ।”
प्रतिनिधिसभाको विघटन अहिले सम्भव नभएको अधिवक्ता त्रिपाठीको भनाइ छ । “अहिले प्रतिनिधिसभाको निर्वाचन पनि सम्भव छैन । अदालतले नै परमादेश जारी गरेको छ । अर्ली इलेक्सनको कुरा गर्नु गलत हो । सरकारले विश्वासको मत लिइसक्यो । यो सरकार पूरा कार्यकाल चल्नुपर्छ । बीचमै छोड्न पाउँदैन । प्रादेशिक सरकार पनि भंग गर्न पाइँदैन ।”