काठमाडौँ । संविधानविद् डा.भीमार्जुन आचार्यले निर्वाचन चाँडो वा ढिलो गर्ने छुट नरहेको बताएका छन् ।
पाँच दलीय गठबन्धनभित्र तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा छलफल चलिरहेका बेला उनले आज सामाजिक सञ्जालमा लेख्दै संविधानमा तोकिएकै समयमा निर्वाचनको परिकल्पना भएको बताएका हुन् ।
उनका अनुसार प्रतिनिधिसभाको पाँच वर्ष ननघाइकन निर्वाचन हुनुपर्ने संविधानले व्यवस्था गरेको छ । “धारा ८५ ले पाँच वर्ष ननघाइकन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ भनेको छ,” उनले भने ।
यसैगरी, स्थानीय तहको निर्वाचन पाँच वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र गर्नुपर्ने संविधानले व्यवस्था गरेको उनले बताए ।
“कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन। दलहरू यसतर्फ नलाग्ने कि ?” उनले ट्विटरमा लेखेका छन् ।
संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) तोकिएको समय मै निर्वाचन हुनु पर्ने व्यवस्था गरेको छ। जसअनुसार प्रतिनिधि सभाको पाँच वर्ष (धारा ८५) (५ वर्ष ननघाएर) र स्थानीय तहको 'कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले छ महिना भित्र'( धारा २२५) निर्वाचन सम्पन्न भैसक्नु पर्छ।
— Bhimarjun Acharya (@BhimarjunPhD) January 22, 2022