काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोभिड–१९ महामारीको संक्रमाण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागु गरेको हो ।
आयोगले बिहीबार विज्ञप्तिमार्फत् दिएको जानकारीअनुसार मतदान तथा मगगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्यमंसेवकलगायत सरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ ।
मापदण्डअनुसार कोरोना संक्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदाताको व्यवस्था गराइएको छ । कोरोना संक्रमितहरुले पञ्जा, मास्क, फेसशिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने आयोगले बताएको छ ।
संक्रमितहरुले मतदान गर्दा मतदानको कार्य केही समयका लागि स्थगित गरेर उनीहरुलाई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । संक्रमितहरुले प्रयोग गरेका मतदान स्थलमा सामाग्रीहरु निसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।
आयोगको निर्देशनअनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने छ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्ने छ ।
यस्तै, मतदानस्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुईजना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको छ ।
मतदानस्थलमा सामाजिक दूरी अनिवार्य गरिएको छ । स्यानिटाइजर प्रयोग अनिवार्य गरिएको छ । मतदान सामग्रीहरुको अनिवार्य रुपमा निसंक्रमण गर्नुपर्ने स्वास्थ्य मापदण्डमा उल्लेख छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड