मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति– सिके राउतलाई ‘ज्यान मार्ने’ धम्की

123

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छन् । बुधबार ‘बलिदानी दिवस’का अवसरमा रौतहटको सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलक्षित विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।

जनमत पार्टीले तराईमधेसका विभिन्न जिल्लामा किसानले समयमा मल नपाएको, झुटा मुद्दा लगाइएकोलगायत मुद्दा उचाल्दै निरन्त आन्दोलन गरिरहेका छन् ।

उसले संघ र प्रदेश सरकारका मन्त्रीहरुलाई बहिस्कार गर्ने नीति लिएको छ । बुधबार पनि गौरमा जनमत पार्टीका कार्यकर्ताले मन्त्री यादवलाई लखेटेका थिए ।

त्यसपछि कार्यक्रमलाई सम्बोधन गरेकी मन्त्री यादवले २०६३ को ‘गौर नरसंहार’को उदाहरण दिँदै हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी हुन् ।

पदीय मर्यादाविपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्ने चेतावनी दिएकी छन् । “गौर नरसंहारको इतिहास राइस मिल जीवित छ । गौरमा फँण देखाउने प्रयार नगर,” राउतलाई चेतावनी दिँदै मन्त्री यादवले भनिन्,“यहाँ लाठी भाँच्ने मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगर ।”

हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उनले भनिन्,“तुफानसँग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ । जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई राउतले नभुलुन् । नत्र तपाईंको कार्यकर्ता मारिन्छन् र तपाईंलाई घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ सतर्क रहनुस् ।”

त्यस्तै, सिके राउतले केही युवालाई भड्काएर मधेसमा कार्यक्रम गरिरहेको पनि उनको आरोप छ । मन्त्री यादवलृ भनिन्,“ढोल पिटेर, १० जनालाई ढोलक हातमा थमाइदिएर केही हुनेवाला छैन ।”

मन्त्री यादवले सिके राउतलाई हिम्मत भए सिंहदरबार घेर्न चुनौती दिइन् । “यदि तपाईंको कलेजोमा ताकत छ । गाई, भैँसीको दुध खानु भएको छ भने गएर सिंहदरबार घेराउ गर्नुस् । घरमा फासफुस हरियो सागसब्जी खानुभएको होला,” उनले भनिन्,“तर, जसको नसामा गाई र भैँसीको दुधको रगतको तकत छ उसलाई फासफुस कहिल्यै पनि हुँदैन । लड्न प्रयास नगर्दा बेस हुन्छ ।”

के हो गौर नरसंहार ?
२०६३ चैत ७ गते अपरान्ह गौर नगरपालिकास्थित राइस मिलमा तत्कालीन माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो ।

राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा २७ वाइसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भए ।

कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएका झडपमा २७ जनाको हत्या भएका घटनालाई गौर नरसंहार भनेर चिनिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...