अब काठमाडौँ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

265

काठमाडौँ । काठमाडौँ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।

काठमाडौँ मोडल अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि काठमाडौँमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेसनमार्फत् अनलाइन अपोइन्टमेन्ट लिन सकिने छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने छ ।

अहिलेको कोभिड–१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ । कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्युआर पेमेन्टलगायत कोजेन्ट इएमआर, कोजेन्ट इएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...