मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो : प्रचण्ड

296

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रुपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन् ।

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरुप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैँमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रुपमा रहेको बताएका छन् ।

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उनले नेपाल भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिएको मुलुक भएको स्मरण गरेका छन् ।

“यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वहरुलाई आधार स्तम्भका रुपमा लिन सकिन्छ,” शुभकामना सन्देशमा उनले भनेका छन् ।

विश्वभर पुनः फैलिएको कोरोना भाइरसको महामारीका कारण हामीले आफ्ना पर्वहरुलाई उत्सवका रुपमा मनाउन नसकेको भन्दै उनले महामारीबाट आफू र आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्न आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...