काठमाडौँ । अर्थतन्त्रको सबैजसो सूचक ऋणात्मक अवस्थामा पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधनान्तर घाटा बढ्दै गएर गत मंसिरमा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको प्रचलित मूल्यको कुल गार्हस्थ उत्पादन (जिडिपी)को अनुपातमा ४.६ प्रतिशत हो ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत असारमा शोधनान्तर स्थिति सवा १ अर्ब रुपैयाँ बचत थियो । त्यसपछिका सबै महिनामा घाटा छ र हरेक महिना घाटा उच्च दरले बढिरहेको छ ।
चालु आर्थिक वर्षको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीति) ७.११ प्रतिशत रहेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्यवृद्धि दर ६.५ प्रतिशत मात्रै राख्ने लक्ष्य राखे पनि समीक्षा अवधिमा वार्षिक लक्ष्यभन्दा ०.६१ प्रतिशत बिन्दुले मुद्रास्फीति बढेको देखिन्छ ।
रेमिट्यान्स गत साउनयता लगातार घटिरहेको छ । मुख्य श्रम गन्त्यव्यमा देखिएका अनेकन अवरोधका कारण रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाहमा गिरावट आएको हो । रेमिट्यान्स गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५ र मंसिरमा ६.८ प्रतिशत घटेको हो ।
राष्ट्र बैंक