काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्नका लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् ।
मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे ।
श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नु पर्ने उल्लेख गर्दै बजारको माग बमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए । यस क्षेत्रका व्यहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालाहरुलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउँदै उनले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालिन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको बताए ।
स्थानीय स्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रहरुको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवर्द्धनमा संघ, प्रदेश र स्थानीयतहबीच गर्नुपर्ने समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गर्न आवश्यक रहेको उनले बताए ।