सुनचाँदी खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छ : गृहमन्त्री खाण

191

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यविधि परिमार्जन गर्ने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको भन्दै आवश्यताअनुसार निर्देशिका र कार्यविधि परिमार्जन गर्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने बताए ।

सम्बन्धित मन्त्रालय, सरोकार राख्ने संघसंस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उनको भनाइ छ । मन्त्री खाणले भने,“सुनचाँदीको नेपालमै उत्खनन र्ग सक्ने सम्भावना छ, अब नेपालमै उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्छ ।”

उनले सुनचाँदी नेपालको पुरानो व्यवसाय पनि भएको भन्दै यसलाई व्यवस्थित गर्दै लैजाने धारणा राखे । मन्त्री खाणले नेपालमा निर्माण हुने गरगहनालाई विदेशमा आकर्षित गर्न सके सुनचाँदी खरिद गर्दा बाहिरिएको धनराशी स्वदेशमा नै फर्कन सक्ने तर्क गरे । उनले नेपालको व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको भएको बताए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले नेपालमा दैनिक २० केजी मात्रै सुन आयात हुने तर माग ३० केजीभन्दा बढी हुने भएका कारण माग पूर्ति गर्न समस्या भएको गुनासो गरेका थिए ।

त्यस्तै सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले विदेशमा नेपालको गरगहनाको माग भएपनि प्रयाप्त सुन नभएका कारण माग पूरा गर्न नसकिएको जिकिर गरे ।

Share This:
सम्बन्धित खबर
Loading...