पृथ्वीनारायणका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढे सामाजिक–आर्थिक रुपान्तरणमा योगदान पुग्ने : राष्ट्रपति भण्डारी

350

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् ।

“यस युगीन दायित्वलाई कार्यरुपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास लिएको छु,” उनले भनिन् ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रुपमा रहेको राष्ट्रपतिको भनाइ छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठुलो योगदान गरेको तथ्य इतिहासमा अंकित रहेको राष्ट्रपतिले स्मरण गरेकी छन् ।

राष्ट्रपतिले सन्देशमा भनेकी छन्,“नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो ।”

महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रुपान्तरणमा योगदान पुग्न जाने राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन् ।

नेपाल एकीकरणमार्फत् यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...