नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ हो : अर्थमन्त्री शर्मा

274

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४औँ साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

नेपालबाट ठुलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको बताउँदै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै समस्याको समाधान रहेको जिकिर गरे ।

“हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ । यही नै मुख्य समस्या हो । सङ्कटको कारण यही हो,” मन्त्री शर्माले भन, “यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी श्रृष्टि गर्नुको अर्को विकल्प छैन ।”

विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने उनले बताए ।

मन्त्री शर्माले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको भन्दै संस्थाको प्रशंसा गरे । “इकोनले निर्यातको डोरेटो बनाएको छ । यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन,” उनले भने, “डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढङ्गले सोचौँ ।”

उनले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । त्यस्तै विगतमा बनाइएका आर्थिक नीति तथा सन्धी सम्झौताहरूको समीक्षा गर्ने समय पनि आएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...