मेरो प्रतिरोधात्मक शक्ति शून्य छ, परम्परागत ज्ञानकै कारण संक्रमित भएको छैन : ओली

84

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक सभ्यता, इतिहास र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

परिवर्तन नेपाल नामक सामाजिक संस्था अन्तर्गतको ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ को टोलीसंग बुधबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा भेट गर्दै ओलीले मुलुकको अस्तित्वलाई जीवन्त राख्ने परम्परागत सभ्यता र संस्कृतिलाई जोगाउनुपर्ने बताए ।

नेपालमा पूर्वजको जीवनशैली र रहनशहनको छुट्टै इतिहास रहेको भन्दै ओलीले स्वस्थ र सभ्य नागरिकले पनि शिक्षा लिनुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो रोग प्रतिरोधात्मक शक्ति शून्य भएपनि परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल भएको बताए । नेपालको खानेकुराहरु पनि पराम्परासँग नै जोडिएको उनको भनाइ छ ।

ओलीले सबै देशको समान स्वाभिमान भएको भन्दै दुई देशको प्रतिनिधि भेट हुँदा समान हैसियत हुने तर्क गरे ।

पौराणिक एवं ऐतिहासिक महत्वले भरिएका धरोहर, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने उद्देश्यले गठन भएको महाअभियानले आफ्ना उद्देश्यका बारेमा ओलीलाई जानकारी गराएको हो । तीन वर्षसम्म चल्ने महाअभियानको नारा ‘हिमाल, पहाड, तराईको सम्पदा र संस्कृतिको नेपाली पहिचान, सांस्कृतिक अतिक्रमण विरुद्ध हाम्रो अभियान’ भन्ने रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...