अधुनिक पार्किङ सिस्टम नेपाल भित्र्याउँदै आइडिया ग्रुप

247

काठमाडौँ । सहरको समस्या बनिरहेको पार्किङ व्यवस्थापनको झन्झट हटाउने गरी नेपालमा आधुनिक पार्किङ सिस्टम भित्र्याइने भएको छ । विश्वका विभिन्न देशमा पार्किङलगायत विभिन्न व्यवसाय गरिरहेका ‘आइडिया ग्रुप’को नेपाल शाखा ‘आइडिया फर नेपाल’ यस्तो सिस्टम भित्र्याउने भएको हो ।

हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवशीय नेपाली तथा विदेशी साझेदारहरु संलग्न एक बहुर्राष्ट्रिय कम्पनी हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति डा. रामवरण यादवले यो परियोजनाको उद्घाटन गरेका छन् ।

परियोजना उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा. यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्ने धारणा व्यक्त गरे । नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडिबुटी प्रशोधनको क्षेत्र लगानीका लागि उर्वर रहेको धारणा व्यक्त गर्दै उनले विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

विदेशमा आर्जन गरेको ज्ञान आर्जन गरेका भारतीयहरुले बैङ्लोरमा ठुलो परिवर्तन ल्याएको उदाहरण दिँदै उनले गैरआवसीय नेपालीहरुले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुनिक कार पार्किक सिस्टम भित्र्याएपछि दुई वटा कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताए ।

उनले विभिन्न देशमा काम गरेको अनुभवको आधारमा नेपालमा पनि काम गर्न लागेको बताए । फरक प्रसंगमा उनले आइडियाको विभिन्न परियोजनामार्फत् आगामी १० वर्षभित्र दश लाख जनालाई उद्यमी बनाउने सोच रहेको बताए ।

उनका अनुसार यो संस्था हाल विश्वका विभिन्न देशमा चार सयभन्दा बढी परियोजनाहरुमा संलग्न छ । जसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ । संस्थाले अफ्रिकाको सुनखानी, यूरोपमा पार्किङ, रियर स्टेट, कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघि देखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायतको क्षेत्रमा लगानी गरिरहेको छ ।

संस्थाले कीर्तिपुर, बुटवल, नेपालगञ्ज, पोखरालगायतको क्षेत्रमा ‘मेघा सिटी’ निर्माणका अवधारणासहित आवास निर्माण गर्दै छ । त्यस्तै, सिन्धुपाल्चोकमा फलफुल तथा जुम्लामा स्याऊ फर्म सञ्चालनको लागि प्रक्रिया आरम्भ गरेको छ ।

कार्यक्रममा संस्थाका दिर्नेशक रोजिना प्रधान राईले नेपालीहरुलाई कामदारको रुपमा विश्वभर कामदारको रुपमा मात्र हेरिने वर्तमान परिस्थितिलाई उल्टाउँदै नेपालीहरु पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरु लागि परेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...