ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालमाथि राजश्व चुहावटको मुद्दा, २ अर्ब ४० करोड बिगो दाबी

317

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले ढकालसहित उनकी पत्नी उमाकुमारी ढकाल, सरोज ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । राजेश्वर लेखापरीक्षण गर्ने फर्म ‘राजेश्वर एन्ड कम्पनी’का प्रोपाइटर हुन् ।

राजश्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करतर्फ ४२ करोड २६ लाख ७ हजार ३५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७, लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ गरी कुल बिगो १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ कायम गरेको छ ।

विभागले बिगो बराबरको शतप्रतिशत जरिबाना पनि माग गरेको छ । कुल २ अर्ब ४० ९८ लाख ३५ हजार ६४८ रुपैयाँ दाबी गरिएको छ ।

ढकाल दम्पतीसहित सरोज र सान्टु आनसान इन्टरनेसनल प्रालिका सञ्चालक हुन् । उक्त संस्थाको लेखा परीक्षाण गर्ने राजेश्वर श्रेष्ठलाई पनि विभागले कसुरदार देखाएको हो ।

शोभाकान्त ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार हुन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । अदालतको आदेशमा उनी हाल डिल्लीबजार कारागारमा छन् ।

राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाइ अर्थात् कारोबार शून्य देखाइ प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तगा नियमहरु बमोजिम तिनुर्पे कर नतिरी राजश्व चुहावटको कार्य गरेको अभियोग पत्रमा उल्लेख छ ।

चुहावट भएको रकम बिगा र सोही बराबरको रकम जरिबाना माग दाबी गर्दै मंगलबार विभागले मुद्दा दायर गरेको हो ।

आनसानका चारैजना सञ्चालकलाई बिगो र जरिबानाबाहेक ३ वर्ष कैदको मागदाबी गरिएको छ भने लेखापरीक्षण गर्ने श्रेष्ठलाई १ वर्ष ६ महिना कैद सजाय माग दाबी गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...