राष्ट्रियसभा निर्वाचन : सत्तारुढ पाँच दलले यसरी गरे बाँडफाँट
काठमाडौँ । पाँच दलिय सत्ता गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा साझा उम्मेदवार उठाउने निर्णय गरेको हो ।
बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ ।
कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर काकीले प्रदेश १ मा खाली तीन सिटमध्ये महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ कांग्रेस र अल्पसंख्यकमा जसपा, प्रदेश नम्बरर दुईमा महिलातर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट छुट्टाइएको जानकारी दिए ।
त्यस्तै, बागमती प्रदेशमा अन्यतर्फ कांग्रेस, महिलातर्फ समाजवादी, गण्डकी प्रदेशमा महिला कांग्रेस, अन्य र दलित माओवादी, लुम्बिनी प्रदेशमा पुरुषतर्फ कांग्रेस, महिलामा समाजवादी र दलितमा राष्ट्रिय जनमोर्चालाई सिट छुट्टाउने सहमति भएको छ ।
कर्णाली प्रदेशमा महिलातर्फ कांग्रेस, अपाङ्गतर्फ माओवादी र खुलामा समाजवादी तथा सुदूरपश्चिम प्रदेशमा खुलामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीलाई दिने निर्णय भएको कार्कीले जानकारी दिए ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।