सुदूरपश्चिम सरकारका मन्त्री सोडारीका छोरा सवारी ज्यान मुद्दामा पक्राउ

66

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका फरार छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा फरार २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ परेका सोडारीलाई सवारी ज्यान मुद्दामा आजै म्याद थप गर्ने तयारी भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक जोशीका अनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको जिपको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दूर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो ।

घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...