हाम्रो पार्टीको लक्ष्य र उद्देश्य जनतामात्र : माधव नेपाल

122

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको लक्ष्य र उद्देश्य जनतामात्र भएको बताएका छन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद् नेपालबीच पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो उद्देश्य चुनाव नभएर जनता र जनताको समस्या भएको बताए ।

उनले जनताको समस्या समाधानका लागि आफ्नो पार्टी अग्रपङ्तिमा उभिने जिकिर गरे । उनले छलफल र परामर्शका आधारमा पार्टीले सही निर्णय गर्ने बताए । अध्यक्ष नेपालले अहिले एकीकृत समाजवादी पार्टीप्रति आकर्षण बढेको भन्दै यसले थप उत्साहित बनाएको जिकिर गरे ।

कार्यक्रममा राष्ट्रिय जागरण परिषद्का भण्डारीले आफू सदैव राष्ट्रिय हितको पक्षमा लाग्ने व्यक्ति भएकाले एकीकृत समाजवादीमा आएको बताए । उनले एमसीसीको चालवाजीलाई अब नेपाली जनताले बुझ्नुपर्ने धारणा राखे ।

भण्डारीले केही वर्षअघि राष्ट्रिय जनमोर्चामा र एमालेमा पनि थिए । तर, एमालेले एमसीसीको पक्ष लिएको भन्दै असन्तुष्ट भण्डारीले गत वर्ष जागरण परिषद् गठन गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...