सोलु करिडोर प्रसारण लाइनको निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

93

काठमाडौँ । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका-४ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकाले अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताए । “प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध भयो, अदालतले अन्तरिम आदेश दिँदा पनि काम रोकियो,प्राधिकरण र आयोजनाका कर्मचारीको निरन्तरतको प्रयास र अविचलित खटाइबाट निर्माण सम्पन्न भएको छ,” घिसिङले भने । “प्रसारण लाइन चार्ज भएपछि एकातर्फ अब त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाहरुको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने छ भने अर्कोतर्फ त्यस क्षेत्रमा विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ साथै विद्युत चुहावट पनि घट्ने छ ।”

सोलुखुम्बुको तिंलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भइ चार्ज भइसकेको छ । योसँगै सिराहाको लाहानबाट विद्युत लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत स्थानीय रुपमा खपत गर्न प्रयोग गरिने छ ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको हो ।

सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठुला समस्या र अवरोध भोगिएको आयोजना प्रमुख जनार्दन गौतमले बताए । सबैको सहयोग र साथमा आयोजना निर्माण सम्पन्न गर्न सफल भएको उनले उल्लेख गरे ।

प्रसारण लाइन सञ्चालनमा आएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झन्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...