काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्मा आफ्नो उपस्थितिले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।
गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको दाबी गरेका हुन् ।
आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाब रहेको भन्दै उनले भने,“..म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसद्मा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।”
एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताए । उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरंकुशता, सामूहिकता नभइ एकल र निरंकुशता लाद्न थालेकाले पार्टीमो विद्रोह गरिएको बताए ।
“ओलीतन्त्रविरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौँ,” नेपालले भने,“यो ऐतिहासिक र साहसिक कदम हो ।” ओली साह्रै ज्याद्रो मान्छे भएकाले कहिल्यै नसुध्रिने उनले दाबी गरे ।
आधाभन्दा बढी एमाले र ओलीकै विरोधमा खर्चिएका उनले ओलीको कब्जा र प्राइबेट कम्पनीको रुपमा एमाले रहेकाले आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताए । एमालेलाई आफ्नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले हामीले मुख्य प्रतिद्वन्द्वी मानेको उनले बताए ।
एमाले विभाजनपछि नेपाल र ओली मंसिर २४ गते काठमाडौँमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका थिए ।
एकले अर्कासँग नबोलेको भए पनि ओलीले आफूलाई हेर्दै जाँदा रमाइलो लागेको नेता नेपालले सुनाए । “हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संयोग ! कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा भने हाम्रो अनुहार हेर्दै गए । रमाइलो भयो,” उनले भने । एउटै स्टेजमा बस्न पनि हुने तर अन्यत्र हामीलाई छुवाछुतको व्यवहार गर्ने यो कस्तो राजनीति हो भनी उनले प्रश्न गरे ।
अध्यक्ष नेपालले एमालेले संसद्मा मर्यादाविरुद्ध काम गरिरहेको आरोपसमेत लगाएका छन् । संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने,“संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना गर्या छ ? संविधानका सम्मान गर् रे, सम्मान गर्या’छन् ?”