ओलीको नाम गिनिज बुकमा ‘गफाडी नम्बर एक’ लेखिदिए हुन्छ : माधव नेपाल

334

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकाले गठबन्धन राजनीति अघि जाने बताएका छन् ।

समाजवादी प्रेस संगठनले सोमबार पुस ५ को सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनमा यस विषयमा छलफल भइरहेको बताए ।

“राष्ट्रियसभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने हाम्रो सहमति भइरहेको छ । आगामी चुनावमा कसैको पनि बहुमत आउँदैन । त्यसैले गठबन्धनको सरकार लामो समयसम्म चल्ने छ । यस विषयमा पनि गठनबन्धनभित्र छलफल भएको छ,” उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उनले ओलीको नाम गफाडी नम्बर एक भनेर गिनिज बुकमा लेखिदिए हुने बताए ।

“गफमा त उनीसँग कसैले सक्दैन । उनको नाम गिनिज बुकमा लेखिदिए हुन्छ । गफाडी नम्बर एक केपी ओली भनेर,” उनले भने,“पर पीडक नम्बर एक केपी ओली अरुलाई पीडा मात्रै दिने ।”

एकीकृत समाजवादीका अध्यक्ष नेपालले तत्कालीन नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई चिन्नै नसकेको बताए । प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको उनको भनाइ थियो ।

“प्रचण्ड सोझो हुन पुग्नुभयो । कहिल्यै उठ्नुभएन, अब मेरो पालो भन्नुपर्थ्यो नि । उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन,” अध्यक्ष नेपालले नेकपाभित्रको विवाद र केपी ओलीको व्यववहारबारे व्याख्या गरे ।

उनले ओलीले पटक–पटक संसद् विघटन गरेर र नेकपा विभाजन गरेको भन्दै उनी वामपन्थी नभएको टिप्पणी गरे ।

उनले भने, “केपी ओलीको वामपन्थी होइनन् रामपन्थ हुन् । अग्रगमन होइन प्रतिगमनको नारा लगाउँदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन् ।” उनले सत्तारुढ गठबन्धनका पाँच वटै पार्टी अग्रगमनका पक्षपाती भएको भन्दै प्रतिगमनका हिमायती केपी ओली भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...