काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ पाँच दलीय गठबन्धनमै तीव्र मतभेद देखिएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसद्बाट अनुमोदन गराउने प्रयसामा छन् भने सत्ताका सहयात्री दुई वाम घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) त्यसको विपक्षमा छन् ।
सत्ता सहयात्रीहरुबीच नै चर्को मतभेद देखिएपछि थप छलफल गर्न भन्दै तीन सदस्यीय कार्यदल बनाइएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीबाट झलनाथ खनाल, कांग्रेसकाबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ रहेको कार्यदल बनाएको हो ।
आइतबार बसेको बैठकको सुरुमै प्रधानमन्त्री देउवाले एमसीसीका लागि बैठक बोलाइएको भन्दै तुरुन्तै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । जनता समाजवादी पार्टीले यसबारे थप छलफल आवश्यक भएको बताएका थिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मध्यमार्गी धारण राखेका थिए । गठबन्धनलाई कायम राख्दै यो विषयमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर उपाय खोज्नुपर्ने उनको धारण थियो । त्यसैगरी, एकीकृत समाजवादीले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने अडान दोहोर्याएको थियो ।
बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई सहभागी थिए ।