सभामुखका कारण संसद् नौटंकी देखाउने थलो भयो : विष्णु पौडेल
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाएको बताएका छन् । उनले सभामुखका कारण संसद् नौटंकीको थलो भएको पनि आरोप लगाए ।
शनिबार आयोजित एमालेनिकट राष्ट्रिय वाणिज्य महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न नसक्ने बताए ।
“संसदभित्र मन्त्रीहरु आफ्नो कुर्सीमा बस्न सक्दैनन् । उनीहरु लुकेर गएर रोस्ट्रममा प्रस्ताव प्रस्तुत गरेर होहल्लाका बीचमा, नाराबाजीका बीचमा, वेल घेराउ भइरहेकै अवस्थामा पास भयो, पास भयो सभामुखले सुनाइदिने, यसखालको संसद्लाई एउटा नौटंकीमा बदल्ने खालको चेष्टा सत्ता पक्षले गरेको छ । सभामुखले गरेका छन्,” उनले भने,“यसले के देखाएको छ भने– यो संसदबाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न सक्ने स्थिति छैन ।”
ताजा जनादेशमा जानु आवश्यक छ भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस सही रहेको भनेर घटनाक्रमले पुष्टि गरेको पौडेलको भनाइ छ ।
पौडेलले पछिल्लो समय न्यायपालिकाको विश्वास गुम्दै गएको पनि बताए । “न्यायपालिकाप्रतिको विश्वास गुम्दै गएको छ । कार्यपालिकाले बजेट कार्यन्वयन गर्न सकेको छैन,” उनले भने,“सभामुखले संसद् सञ्चालन गर्न नसक्नुले नेपाली जनताप्रति सत्ता गठबन्धनको विश्वास गुमेको छ ।”
पौडेलले संविधानसम्मत नचल्ने सभामुखलाई सभामुख मानेर आफूहरु अगाडि बढ्न नसक्ने र सदनलाई अगाडि बढ्न दिन नसक्ने बताए ।
“यता त सभामुखले आफ्नो गल्ती महसुस गर्नुपर्यो । आफूलाई सच्याउनुपर्यो । नेकपा एमालेले संविधानसम्मत ढंगले आफ्नो दलका सदस्यलाई कारबाही गरेको र निष्कासन गरेको सिफारिस कार्यान्वयन हुनुपर्यो,” उनले भने,“या त सभामुखले पदमुक्त हुनुपर्यो । अन्य अवस्थामा यो सदन चल्न सक्दैन भनेर हामीले अडान लिनुपर्ने स्थिति सिर्जना भएको छ ।”
एमाले नेतृत्वको सरकार हुँदा देशको अर्थतन्त्र बचाउने र जनताले देख्ने गरी काम भएको उनले दाबी गरे ।