काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्,“मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।”
एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावलले यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए ।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए ।
मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 18, 2021