देशलाई समृद्ध बनाउने पर्याप्त आधार मसँग छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताए ।
उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको समेत बताए । अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट सम्मुनत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए । उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकाले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।
“हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ । नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ । देशलाई सबै खालका असमानता, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौँ । हामी हाम्रो देश नेपाललाई सुन्दर बनाउन चाहन्छौँ । नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ । हाम्री प्रत्येक नेपालीको अनुहारमा उज्यालोपन देख्न चाहन्छौँ । मधुर मुस्कान देख्न चाहन्छौँ । प्रसन्न हृदयी भएको देख्न चाहन्छौँ,” नेपालले भने,“हामी प्राकृतिक सम्पदामा धनी देश हौँ । कृषि, पर्यावरण, वनजंगलको क्षेत्रमा धनी देश हौँ । फलफूलदेखि लिएर माछामासुसम्म सबै उपभोग्य वस्तु, शरीरको निम्ति अत्यन्तै पोषण तत्वहरु, हामी हाम्रै देशमा उत्पादन गर्न सक्छौँ । हाम्रो नागरिकको आवश्यकतालाई पूरा गर्न सक्दछौँ । साथै उत्पादन गरेर विदेश निर्यात पनि गर्न सक्दछौँ ।”
उनले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । उनले सरकारले गुणस्तरलाई हेरेर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताए ।
नेपालले नेपालमा पर्यटन, जलविद्युत् र कलकारखाना खोल्न बलियो सम्भावना रहेको तर यसमा अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगसँगै वातावरणलाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको भनाइ राखे ।
उनले नेपालमा प्रतिहेक्टर, प्रतिबिघा उत्पादन गर्ने क्षमता अत्यन्त कम रहेको भन्दै थोरै ठाउँमा धेरै उत्पादन हुने गरी आधुनिक तरिकाबाट कृषि गर्नुपर्ने बताए ।