एमालेले पार्टी प्रवेश अभियान सञ्चालन गर्ने [अपनिसहित]

272

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवेश अभियान र १०औँ महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त पार्टी बन्ने एमालेले दाबीसमेत गरेको छ ।

“हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ,” एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि)मा लेखिएको छ ।

नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै एमालेले एउटा ध्रुवको नेतृत्व आफूहरुले र अर्को ध्रुवको नेतृत्व पाँच दलीय सत्ता गठबन्धनले गरेको जनाएको छ । सत्ता गठबन्धनको गतिविधिको सामना गर्ने र अर्को शक्तिलाई थप सुदृढ बनाउन सफल हुने एमालेले जनाएको छ ।

पार्टी र पार्टीको मुख्य नेतृत्वका विरुद्धमा घेराबन्दी र आक्रमण भइरहेको बेलामा विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक रुपमा सफल पारेको दाबी एमालेले गरेको छ ।

एमालेले १०औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सबै सदस्यहरुको कार्यविभाजन गरेको छ । अपनिअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ । एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजक गर्ने जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् । महासचिव शंकर पोखरेलले सांगठानिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् ।

uml-apani.pdf
Share This:
सम्बन्धित खबर
Loading...