सेयर बजारबारे मैले गरेको विश्लेषण सही छ, ओली दलाल पुँजीपति वर्गको एजेन्ट : प्रचण्ड

256

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली पुँजीपति वर्गको एजेन्ट भएको आरोप लगाएका छन् ।

ओलीले बुधबार प्रचण्डमाथि सेयर कारोबारीबाट चन्दा नपाएको झोकमा सेयर बजारबारे टिप्पणी गरेको बताएका थिए । जबाफमा प्रचण्डले पुँजीवादको चरित्रबारे आफूले गरेको टिप्पणी सही नै रहेको बताएका छन् ।

प्रचण्डले ओलीले गरेको टिप्पणीलाई ‘दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणी’को संज्ञा दिएका छन् ।

“साथै मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रुपमा खारेज गदर्छु,” उनले विज्ञप्तिमा भनेका छन् ।

साथै उनले नेपालको सेयर बजारका सन्दर्भमा आफू र आफ्नो पार्टी लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको बताउँदै दलाल पुँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन सेयर होल्डरहरुलाई आग्रह पनि गरेका छन् ।

“आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र मसमेत लाखौँ लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पुँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु,” प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...