काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति पदकी उम्मेदवार सुजाता कोइरालाले आफूले पार्टीको चुनाव हारे पनि विजयी महसुस गरेको बताएकी छन् ।
“मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ,” उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै भनेकी छन् ।
उनले आफूले चुनावमा हारेपनि आगामी दिनमा महिलाहरु पार्टीको नेतृत्वमा आउन सक्ने मार्ग कोरिएको बताइन् ।
“मैले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौँ महिलाहरुमा जुन हौसला देखेँ त्यसले निकट भविष्यमा महिला काँग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ,” उनले भनिन्,“यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।”
उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट आफू सधैँ प्रेरित रहेको भन्दै पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताएकी छन् । उनले सबैलाई महाधिवेशनपछि एक ढिक्का हुन अपिलसमेत गरेकी छन् ।