‘पाहुनालाई ढिडो’ अभियान सञ्चालन गर्दै आदर्श सञ्चार

218
  • सिर्जना पन्त

बागलुङ । समुदायमा पछिल्लो समय बढ्दै गएको आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ बागलुङको एक सहकारीले पाहुनालाई ढिडो अभियान सञ्चालन गर्ने भएको छ ।

धौलागिरि क्षेत्रको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि पाहुनालाई ढिडो अभियान अन्तरगत स्थानीय खानाको प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सूचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर वित्तीयलगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले हरेक वर्ष समुदायलाई सचेत बनाउने नयाँ–नयाँ अभियान सञ्चालन गर्दै आएको छ । संस्थाको मंसिर २७ गते सम्पन्न १५औँ वार्षिक साधारणसभाले बागलुङ जिल्लामा सञ्चालित घरबास कार्यक्रम (होस्टे) हरुसँग समन्वय गरी स्थानीय खानाको प्रवर्द्धनका लागि पाहुनालाई ढिडो अभियान सञ्चालन गर्न निर्णय गरेको छ ।

दुर्गम भन्दा दुर्गम ठाउँमा पनि खाजा, खानाका रुपमा आयातित खाद्यान्न, प्याकिङ तथा जंग फुडको प्रयोग बढ्दै गएको र त्यस्ता प्रकारका खानाले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै आर्थिक अवस्थामा समेत असर पार्ने भएकाले यसलाई न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पाहुनालाई ढिडो अभियान सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले जानकारी दिइन् ।

स्थानीय स्तरमा उत्पादित वस्तुको प्रयोग घट्दै गएको, उत्पादनबाट श्रमशक्ति छुट्दै गएको, बालबालिकादेखि जेष्ठ नागरिकसम्म, घरको भान्सादेखि मेलापातसम्म खाना तथा खाजाका रुपमा चाउचाउ, चिउरा, विस्कुटलगायतका खाद्यवस्तुको प्रयोग अत्यन्तै बढेको छ, अध्यक्ष जिसीले भनिन्,“अजिनो मोटो, इष्ट जस्ता औषधीको प्रयोग गरेका वस्तु खानाले मानिसमा दीर्घ रोग हुनुका साथै वचत गर्न सकिने पैसा समेत खर्च हुने गरेको छ, यसलाई नियन्त्रण गर्नका लागि व्यापक जनचेतना आवश्यक पर्छ ।”

बागलुङमा सञ्चालनमा रहेका होमस्टेहरुसँग समन्वय गरेर आदर्श सञ्चार सहकारीले जिल्लाव्यापी रुपमा स्थानीय खानाको प्रवर्द्धनको अभियान सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको उनको भनाइ छ ।

कतिपय होमस्टेहरुले समेत बाहिरबाट आएको खाना पाहुनालाई खुवाउने गरेको भन्दै उनले अब होमस्टे मात्रै होइन, प्रत्येक घरमा आउने पाहुनालाई ढिडोलगायत घरमै उत्पादित चिज खुवाउन सन्देश दिने गरी कार्यक्रम अगाडि बढाउने संस्थाले योजना रहेको छ ।

बागलुङ जिल्लामा २८ वटा होमस्टे सञ्चालनमा छन् । बागलुङ नगरपालिकामा १, काठेखोला गाउँपालिकामा ९, बरेङमा १, जैमिनी नगरपालिकामा ४, गलकोट नगरपालिकामा ४, ताराखोला गाउँपालिकामा २ र ढोरपाटन नगरपालिकामन ७ वटा होमस्टे सञ्चालनमा छन् । ति होमस्टेहरुसंग समन्वय गरी पाहुनालाई ढिडो अभियान सञ्चालिन गरिने संंस्थाले जनाएको छ ।

गाउँघरमा उत्पादन हुने खाद्यान्न, तरकारी लगायत फलफूलहरुलाई व्यवस्थित रुपमा संकलन, भण्डारण र बिक्री वितरणको व्यवस्था मिलाउनका लागि स्थानीय तह, वडा कार्यालयहरु र सहकारी संघ संस्था लगायत उपभोक्ता समुहहरुलाई क्रियाशिल बनाउन पनि संस्थाको यो अभियान प्रभावकारी हुने अध्यक्ष जिसीको दाबी छ ।

आदर्श सञ्चार सहकारी संस्थाले विगतमा युवा विद्यार्थीहरुलाई वित्तीय रुपमा साक्षर बनाउने उद्देश्यका साथ विद्यालयमा सहकारी शिक्षा, कुलतमा लागेका युवाहरुलाई सही बाटोमा लगाउनका लागि दुर्व्यसनविरुद्ध आमाहरु, महिलाहरुलाई सीप सिकाउने र वचत गर्ने बानीको विकासका लागि प्याड बनाउने र प्रयोग गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी हुनुका साथै सरोकारवालाहरुको ध्यानाकर्षण भएर कार्यक्रमहरु अगाडि बढेको अध्यक्ष जिसीको भनाइ छ ।

संस्थाले शेयर सदस्यहरुलाई लक्षित गरी स्वास्थ्य सचेतना र स्वास्थ्य उपचारमा सहयोगको अभियानसमेत सञ्चालनमा ल्याएको छ । सेयर सदस्य र एकाघरका परिवारका सदस्यहरु बिरामी भएर अस्पतालमा उपचार गर्नु पर्नेमा एक महिनाका लागि ५० हजार रुपैयाँ बिना ब्याज उपलब्ध गराउने, सदस्यको घरमा सबैको मृत्यु भएमा मृत्यु संस्कारका लागि एक महिनाका लागि १ लाखसम्म बिना ब्याजमा रकम उपलब्ध गराउनेलगायतका कार्यक्रम सञ्चालन गरेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिए ।

बागलुङ जिल्लाभर कार्यक्षेत्र भएको आदर्श सञ्चार सहकारीले जिल्लाका १० वटै पालिकामा प्रतिनिधि राखेर संस्थाले सञ्चालन गरेका अभियानलाई अगाडि बढाउने योजनाका साथ अगाडि बढेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...