विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र हो : शिक्षामन्त्री पौडेल

294

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्विद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र भएको बताएका छन् । काठमाडौँ विश्विद्यालयको २७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय मानव जातिलाई जीवन जिउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो भएको बताए ।

सहकुलपति समेत रहेका उनले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दीगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताए । “विश्वविद्याय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा ब्यक्तिको मार्गदर्शन थलो हो,” उनले भने, “दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ ।”

विश्वविद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक राष्ट्र निर्माणका बाहक भएको बताउँदै उनले देश निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी दीक्षत विद्यार्थीको काँधमा रहेको बताए ।

“शिक्षित र सभ्य युवा नै राष्ट्र निर्माणका कर्णधार हुन्,” मन्त्री पौडेलले भने, “मुलुकलाई परनिर्भरताबाट आत्म निर्भरतातिर डोर्याउने जिम्मेवारी पनि तपाईंकै काँधमा निहीत छ ।”

समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विद्यार्थीहरु पढाईको खोजीमा बाहिर जाने नभइ अन्य देशबाट नेपाल आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भने, “नेपाली विद्यार्थीहरु पढाईको खोजीमा अब बाहिर जाने होइन । अन्य देशका विद्यार्थीहरु काठमाडौँ विश्वविद्यालयमा पढ्न आउन प्रतिस्पर्धा गर्न पाउने विश्वविद्यालयको रुपमा विकास गर्नुहोस् ।”

कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ आर्टस्का २३४, स्कुल अफ एजुकेसनका १०४, स्कुल अफ इञ्जिनियरिङका २९, स्कुल अफ लका ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेसका ५८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...