हलिया, कमैयाको न्यायिक पुनःस्थापनामा सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

293

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताएका छन् ।

कृषि बधुवा मजदुर अधिकार मञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भुगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुनर्स्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने बताए ।

श्रेष्ठले पछाडि पारिएका वर्ग समुदायको उत्थान, पुनर्स्थापना, रोजगारीसँग जोडिएका विषयहरुको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाए । उनले आवश्यकता, रुची र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आर्यआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए । साथै उनले बलपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानको पहल गर्ने बताए ।

सरकारले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुमबासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने बताए ।

एमाले सांसद शान्ता चौधरीले कमैया, कम्लरी र हलियाका रूपमा दुःख पाएकाहरु मुक्त भएपछि पनि न्यायिक पुनःस्थापना प्रभावकारी हुन नसकेको बताइन् ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, राष्ट्रिय मुक्त हलिया समाज महासंघ, कमैया महिला जागरण समाज, राष्ट्रिय हरवाचरवा अधिकार मञ्च, बाध्यकारी श्रम निर्मुलन पैरवी समूहका प्रतिनिधिहरुले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्तिको घोषणापछि न्यायिक पुनःस्थापना प्रभावकारी हुन नसकेको बताएका थिए ।

कसैलाई पनि शोषण, बेचबिखन, दासत्व जस्ता कार्यमा संलग्न गराउन नपाइने संवैधानिक व्यवस्था छ । हरवाचरवाहरु संविधानप्रदत्त रोजगारीको छनोटको स्वतन्त्रता, मर्यादापूर्ण श्रम अभ्यास, न्यूनतम ज्यालालगायतबाट बञ्चित छन् ।

मन्त्री श्रेष्ठले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्ति र पुनःस्थापनाका लागि गर्नुपर्ने काम अन्य मन्त्रालयसँग पनि सम्वन्धित रहेकोले आवश्यक समन्वय गर्ने विश्वास दिलाए ।

Share This:
सम्बन्धित खबर
Loading...