काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरुको बुधबार शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रच्ण्ड’ र माधवकुमार नेपाल त्यसको संवाहक भएको उनको आरोप थियो । “अस्थिरता मच्चाउन खोज्ने शक्ति सक्रिय रहेका छन् । नियन्त्रित अस्थिरता हाम्रो नीति हो भनेर भनिएको थियो,” ओलीले भने,“त्यसका लागि अस्थिरताका संवाहक शक्ति नेपालमा छन् । सबैभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड माकुने एन्ड कम्पनी । संवाहक तत्वहरु यिनैहरु हुन् ।”
ओलीले प्रचण्ड र नेपालसँग एकीकरण सम्भावना नभएको पनि ठोकुवा गरे । “हामीले राम्रोसँग चिनेका छौँ । उनीहरुको कहाँबाट स्वीच अन/अफ हुन्छ हामीले छर्लङै देखेका छौँ । महान जनयुद्ध भनेर भनियो । हतियार कहाँबाट ल्याइयो । त्यो खोजिएन,” उनले भने । ओलीले जनयुद्ध पनि आफ्नो दुनो सोझ्याउने नीतिअनुसार गरिएको बताए । ओलीले जनयुद्ध र महान क्रान्तिका नाममा बाहिरी देशमा तालिम दिएर युवाहरुलाई बर्बाद पारेर केही मान्छे महान नेताको रुपमा उदाएको बताए ।
ओलीले नेपाली कांग्रेसले खराब तत्वसँग साँठगाँठ गर्ने र देशभक्त शक्तिसँग जाइलाग्ने प्रवृति अंगालेको टिप्पणी गरे । कांग्रेसले यो नीति अवलम्बन गर्न छोड्नुपर्ने उनको सुझाव छ ।
“प्रतिगामी शक्तिको मतियार भएर नहिँडोस् । २०१५ सालको उपलब्धि २०१७ सालमा गुम्यो । कांग्रेसकै काराणले । त्यसपछिका कदम पनि त्यस्तै भए । माघ १९ मा पनि त्यस्तै भयो । ज्ञानेन्द्रले उधुम मच्चाए,” ओलीले भने,“त्यतिखेर प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर उपद्रो मच्चाइएको थियो । २०६० साल मंसिर १९ मा ५ बुँदे सहमति भएको थियो । प्रचण्ड र ज्ञानेन्द्रबीच के भएको थियो त्यो भन्नुपर्यो ।”
बाहिर क्रान्ति, राष्ट्रियता र परिवर्तनका कुरा गरेर भित्र भित्र प्रतिक्रियावादीको शिकार हुन काम भएको ओलीले बताए । अहिले पनि स्वार्थी मानिसहरु त्यसका पछि कुदिरहेको ओलीको टिप्पणी छ ।
“हामीले जनदबाबबाट यी कुराहरु सच्याउनुपर्ने छ । केन्द्रीय कमिटीमा निर्वाचित भएका र मनोनीत भएका साथीहरुले यी सबै कुरा बुझ्नुपर्ने छ,” उनले भने,“हाम्रो राष्ट्रिय आकांक्षा सुखी नेपाली, समृद्ध नेपालका लागि त्यो काममा अघि बढ्नुपर्ने छ ।”
ओलीले जनताका नेता हुनका लागि विचार, व्यवहार, आचरण, शैली राम्रो बनाउनुपर्ने बताए ।