काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष नेकपा (एमाले)सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बडूले दलहरुको व्यस्तताका कारण एमालेसँग छलफल हुन नसकेको भन्दै वार्ता र संवादबाटै समस्याको समाधान गर्न तयार रहेको बताएका हुन् ।
एमालेको महाधिवेशन सम्पन्न भएको र कांग्रेसको महाधिवेशन जारी रहेकाले दलहरुको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने उनको भनाइ छ । उनले सहमतिको प्रयासस्वरुप नै मंगलबारको बैठकमा अध्यादेश पेसबाहेक अन्य कार्यसूची अघि नबढाइएको दाबी गरे ।