कमीकमजोरी सच्याउँछु भनेकाले देउवालाई समर्थन गर्ने निर्णय गरेँ : प्रकाशमान सिंह

336

काठमाडौँ । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् ।

उनीहरुबीच केहीबेर अघि प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको हो । भेटपछि सिंहले पत्रकारहरुसँगको कुराकानीमा देउवालाई आफ्नो समर्थन रहने बताएका हुन् ।

देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकाले आफूले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको उनले बताए । समर्थनबारे जानकारी दिँदै उनले भने,“देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ । उहाँले यसपटक मलाई हेल्प गर्नुस् भन्नुभएको छ । विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।”

महाधिवेशन प्रतिनिधिको मतलाई अगाडि बढाउने र पार्टीमा परिवर्तन गर्नुपर्ने कुरामा देउवा सहमत भएकाले आफूले समर्थन गरेको प्रकाशमानको भनाइ छ ।

महाधिवेशनका ४ हजार ७४३ प्रतिनिधिहरुमध्ये ४ हजार ६७९ मत खसेको थियो जसमध्ये ७६ मत बदर भएको थियो ।

पहिलो चरणमा देउवाले २ हजार २५८, कोइरालाले १ हजार ७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । अब सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...