दोस्रो चरणको निर्वाचनका लागि नेताहरुले थाले दौडधुप : सिंह र निधि निर्णायक

कांग्रेसको १४औँ महाधिवेशन

296

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएसँगै नेताहरुबीच दौडधुप सुरु भएको छ । सभापतिका लागि आज दिउँसो ३ बजेदेखि मतदान गरिने भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको हो ।

उनीहरु दुवै जनाले चुनाव जित्नका लागि तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग सहकार्य गर्नुपर्ने हुन्छ । कोइराला र सिंह यसअघि नै देउवाइतर समूहमा थिए भने निधि केही महिनाअघि मात्रै देउवासँग छुट्टिएका हुन् ।

पहिलो चरणमा देउवाले २ हजार २५८ मत प्राप्त गरेका छन् भने डा. कोइरालाले १ हजार ७२९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा प्रकाशमानले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल ४ हजार ६८१ मत खसेको थियो । सिंह, निधि र गुरुङको मत जोड्दा ६४० मत हुन्छ । जितका लागि देउवालाई ८२ र शेखरलाई करिब ६ सय मत आवश्यक पर्छ ।

प्रकाशमान, निधि र गुरुङले शेखरलाई सघाएमा विजयी हुन सक्छन् । तर, यी तीनमा विमलेन्द्र या प्रकाशमानले सघाएमा वा उनीहरु मिलेको अवस्थामा पनि सय जना जति मत तान्न सकेको अवस्थामा देउवा विजयी हुन्छन् ।

शेरखले ल्याएको १ हजार ७२९ सँग तीनै जनाको मत जोड्दा २ हजार ३६९ हुन आउँछ । यो भनेको करिब ५१ प्रतिशत मत हो । तर, देउवाविरुद्ध बाँकी सबै मिलेको अवस्थामा पनि देउवाले अहिलेको मत जोगाएर केही मत थप्न सके भने उनले जित्ने सम्भावना हुन्छ ।

देउवाले २ हजार २५८ मत ल्याएकाले दोस्रो चरणमा विमलेन्द्र या प्रकाशमानलाई तानेमा झन सजिलै जित्न सक्छन् । देउवाको मतमा प्रकाशमानको मत जोड्ने हो भने २ हजार ६२९ हुन आउँछ ।

अर्कातिर २४९ मत ल्याएका विमलेन्द्रले साथ दिँदा पनि देउवाको पक्षमा २ हजार ५०७ हुन आउँछ । तर, यो अंकगणितीय हिसाबअनुसार महाधिवेशन प्रतिनिधि मत दिन तयार नहुन पनि सक्छन् ।

संस्थापनइतर समूह फुट्दा पनि शेखरले पहिलो चरणमा देउवालाई रोक्न सकेकाले उनी उत्साहित देखिएका छन् ।

देउवाप्रतिको असन्तुष्टिलाई तान्दै विमलेन्द्र र प्रकाशमानलाई मनाउन सके भने देउवाले दोस्रो चरणमा हराउन पनि सक्छन् ।

दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एवम् गृहमन्त्री बालकृष्णा खाण बिहानै नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका छन् । खाणले सिंहसँग देउवालाई सघाउने प्रस्ताव राखेका छन् भने सिंहले आफ्नो समूहमा छलफल गरेर मात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जबाफ दिएका थिए ।

यस्तै, खाणले प्रकाशमानलाई भेटेर फर्किएलगत्तै सभापतिका प्रत्याशी शेखर कोइरालाले पनि उनलाई निवासमै पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...