काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ११ः४५ बजेदेखि मतदान सुरु हुने भएको छ ।
काठमाडौँको भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा बिहान ८ बजे हुने भनिएको मतदान झन्डै ३ घन्टापछि सुरु हुने भएको हो । निर्वाचन समितिका सदस्य तेज रावलकाअनुसार मतपत्र आउन ढिलाइ भएकाले मतदानको कार्यक्रम केही बेरपछि सारिएको हो ।
यतिबेला मतदानस्थलमा सभापतिका उम्मेवादरहरु राष्ट्रियसभा गृहमा आउने क्रम सुरु भएको छ । कांग्रेसका नयाँ नेतृत्वका लागि ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरुको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १२१ सदस्य निर्वाचित हुनेछन् ।
शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदरवार ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुने छ ।