काठमाडौँ । नेपाली कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनका लागि आफ्नो टिमलाई जिताउन आग्रह गरेका छन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अब निर्वाचनपछि फेरि केन्द्र, प्रदेश, स्थानीय तहमा सरकार बनाएर कांग्रेसलाई पुरानै अवस्थामा ल्याउनका लागि आफ्नो टिमलाई जिताउन आग्रह गरेका हुन् ।
उनले आफू सभापतिमा निर्वाचित भएमा आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस नेतृत्वमा सरकार बनाउने उनले दाबी गरे ।
मुलुकलाई कम्युनिस्ट शासन खासगरी ओली शासनबाट मुक्त गर्नुपर्ने र उक्त कार्यभार आफूले निर्वाह गर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री र पार्टी सभापति फरक–फरक हुन नहुने तर्क गरे । अहिले देउवाको हार जितको विषय नभएको र प्रजातन्त्र र पार्टीलाई जिताउनुपर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापति जितेका प्रधानमन्त्रीको नेतृत्वमा उच्च मनोबलका साथ निर्वाचनमा जानुपर्ने बताए । उनले अहिले देउवाको जितको विषय नभएर समग्र पार्टीका लागि देउवालाई नै पार्टी सभापतिमा निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
पत्रकार सम्मेलनमा देउवा प्यानलका नेताहरुले पार्टीलाई बलियो बनाउन आफूहरुलाई जिताउन आह्वान गरेका थिए ।