माओवादीलाई हराउने क्षमता कसैसँग छैन : प्रचण्ड

206

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको दाबी गरेका छन् ।

पार्टीको सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै प्रचण्डले माओवादी राष्ट्र र जनताका लागि काम गर्ने पार्टी भएको भन्दै माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको दाबी गरेका हुन् ।

उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल हुने बताए । उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए । प्रचण्डले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गरे ।

प्रचण्डले विचार, सङ्गठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पारे । पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैँबाट रुपान्तरण जरुरी रहेको भन्दै उनले राष्ट्रिय सम्मेलनसम्म पुग्दा माओवादी नयाँ विचारका साथ परिस्कृत हुने धारणा राखे ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलनको शुभारम्भ गरेको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुने छ ।

माओवादीले प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...