काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार देउवाका साथै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको प्यानलमा उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । त्यस्तै सोही प्यालनबाटै प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
शेखर कोइराला नेतृत्वको प्यानलबाट उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै विमलेन्द्र निधिको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । महामन्त्रीमा सोही प्यानलबाटै विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीको सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ भने सदस्यमा सबैभन्दा बढी खुल्लामा १०९ जना र सबैभन्दा कम पिछडिएको क्षेत्रबाट २ जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आइतबार मनोनयन पत्र फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने मतदान सोमबार हुने कांग्रेसले जनाएको छ ।