साझा उम्मेदवार छान्न संस्थापनइतरको बैठक बोहराटारमा जारी

306

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट एक जनामात्रै सभापतिको उम्मेदवार बनाउने प्रयासस्वरुप रामचन्द्र पौडेल निवास बोहराटारमा आज पनि छलफल भइरहेको छ ।

पौडेल निवासमा नेताहरु डा.मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसीलगायतले पौडेलसँग छलफल गरिरहेका छन् ।

पौडेलको संयोजनमा बसिरहेको बैठकमा सभापतिका दाबेदार डा.शेखर कोइराला र प्रकाशमान सिंह उपस्थित भएका छैनन् ।

मंगलबारदेखि निरन्तर छलफलमा रहेको पौडेल समूहमा नेता सिंह र कोइरालाको अड्डीका कारण उम्मेदवार छनोटमा अड्चन देखिएको छ । पौडेल र शशांकले प्रकाशमान र शेखर मिलेर आए आफू छोड्न तयार रहेको बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार एक जनामात्रै उम्मेदवार नभए आफू अघि नसर्ने पौडेलको अडान छ ।

त्यस्तो अवस्थामा शेखर कोइरालालाई नै अघि सार्ने तयारी गरिएको स्रोतले जानकारी दियो ।

कांग्रेस महाधिवेशनअन्तर्गत आज १० बजेदेखि उम्मेदवारी दर्ता हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...