गगन थापालाई ओलीको व्यङ्ग्य : संशोधन गरेर चिन्तक बन्न खोजेका छन्, ठिकै छ

405

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश र जनताको उन्नतिका लागि ल्याउने राष्ट्रिय नारा र गन्त्यव्यलाई अन्य दलले शब्द यताउती गरेर कपी गर्ने गरेको बताएका छन् ।

एमाले बागमती प्रदेश कमिटीले दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस नेता गगन थापालाई जबाफ फर्काएका हुन् । थापाले ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ आधारभूत रुपमै सही नभएको भोलिपल्ट ओलीले संशोधन गरेर चिन्तक बन्न खोजेको भन्दै व्यङ्ग्य गरे ।

ओलीले भने,“समृद्ध नेपाल, सुखी नेपाली’ संशोधन गरेर सम्मुनत नेपाल, सम्मानित नेपाली’ कि के भनेर आएछ । संशोधन गरेर चिन्तक निस्किन खोजेको जस्तो देखिन्छ, ठिकै छ ।”

उनले अघि थपे,“हिजो हामीले आफ्नो गाउँ, आफैँ बनाउँ भन्ने लहर चलायौँ । त्यसपछि अनेक कालमा नाम परिवर्तन गर्दै कपी गर्न खोजियो । गाउँ गाउँमा सहकारी घर घरमा भकारी यस्तै यस्तै । तर, एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो ।”

एमालेको समृद्ध नेपाल, सुखी नेपालीको नारा अपूर्ण रहेको भन्दै कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले बिहीबार आफ्नो अवधारण सार्वजनिक गर्ने क्रममा समुन्नत नेपाल, सम्मानित नेपाली हुनुपर्ने बताएका थिए । उनले भनेका थिए,“एउटा पार्टी र नेताको मुखबाट सुन्नुभएको छ– समृद्ध नेपाल, सुखी नेपाली । त्यो र समुन्नत नेपाल र सम्मानित नेपालीमा आधारभूत फरक छ ।”

उनले समृद्ध नेपालका विषयमा व्याख्या गर्दै भने, “समृद्ध नेपाल नेपालमा एयरपोर्टको संख्या बढ्यो भने, चुच्चे रेल दुईतिरबाट आयो भने, पानीजहाज हुइँकियो भने, धरहराबाट हेर्न पाइयो भने हुन्छ । तर, समृद्धिभित्र रेल छ, चढ्ने मान्छेको अत्तोपत्तो छैन । भ्युटावर छ, तर तलका मान्छे त्यसबाट देखिँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...