कांग्रेसको १४औँ महाधिवेशन : ५ हजार बढी प्रहरी खटाइने, ड्रोनबाट निगरानी

351

काठमाडौँ । नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादु कुँवरले महाधिवेशनका लागि थप मद्धतसहितको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनकाअनुसार उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकताअनुसार सुरक्षा सतर्कता बढाएको छ । थप टोलीसमेत खटाइएको छ ।

मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा आज उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर ५ हजार बढी प्रहरी खटाइएको जानकारी दिए ।

कार्यक्रमस्थललाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ । कार्यक्रम प्रवेश बिन्दुमा प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा व्यवस्था गरिएको उनले जानकारी दिए ।

ठाउँठाउँमा सिसी क्यामेरा जडान गरिएको र त्यसको नियन्त्रण तथा अनुगमन महानगरीय प्रहरी कार्यालय र नगर प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । प्रवक्ता राठौरका अनुसार ड्रोन क्यामेराको समेत प्रयोग गरेर निगरानी हुने छ । प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबिसै घन्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ ।

भिभिआइपी र भिआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशन सुरक्षाका लागि सादा पोशाकमा पनि प्रहरी परिचालन हुनेछन् । पैदल, मोबाइल गस्ती नियमित रहनेछन् । आवश्यक थप मद्धत टोलीसमेत व्यवस्थापन गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...