काठमाडौँ । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको बृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिनुपर्ने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै खाणले भने,“राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको बृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवाको निरन्तरता आवश्यक छ ।” आसन्न महाधिवेशनले सभापतिमा देउवालाई नै निरन्तरता दिने निर्णय गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
उनले आगामी स्थानीय तहको निर्वाचन र आम निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न कांग्रेसमा एकता र वर्तमान गठबन्धनको स्थिरता आवश्यक रहेको समेत बताए ।
“स्थानीय तहको निर्वाचन, आमनिर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाली कांग्रेसमा एकता र गठबन्धनको स्थिरता अवश्यक छ,” उनले भने ।