देउवाले भने– सकेसम्म सहमतिको आधारमा नेतृत्व चुन्छौँ

266

काठमाडौँ । प्रधानमन्त्री एवन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए ।

सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तकको बिहीबार काठमाडौँमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने हार÷जितलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरे ।

उनले प्रतिस्पर्धालाई कटुताका रुपमा नलिन समेत आग्रह गरे । “हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौँ । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जित÷हार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रिया लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस्,” उनले भने ।

देउवाले कांग्रेसको महाधिवेशन पार्टीका लागि मात्रै नभएर नेपालकै प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्तै महत्वपूर्ण हुनसक्ने बताए । साथै उनले महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौँ आएका नेता÷कार्यकर्ताहरु उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे ।

१४औँ महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले भने,“यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन लाग्न साथीहरु लाग्नेछन् ।”

Share This:
सम्बन्धित खबर
Loading...