चितवन । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् । एमाले महाधिवेशन प्रचार सहयोग समिति चितवनको आइतबार भएको समीक्षा बैठकमा बोल्दै भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागित भएको बताए ।
जनलहरले पार्टीविरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे ।
उनले एमाले महाधिवेशन पार्टी एकताको निरन्तरता भएको भन्दै पूर्वमाओवादीका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएको बताए । महाधिवेशनले एमालेको नेतृत्वमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियान र एमाले जबरजस्त जनताबीचमा छ भन्ने पुष्टि गरेको उनले बताए ।
नेता भट्टराईले चितवनको एमाले महाधिवेशन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको र त्यसलाई सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिए । महाधिवेशनकै कारण चितवनमा आन्तरिक पर्यटनको विकास भएको उनको भनाइ छ ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशनमा पार्टीको योजनाअनुरुप प्रचारप्रसारका गतिविधि भएको बताए । उनले पार्टीले महाधिवेशन लक्षित प्रकाशन गरेको बुलेटिन, भिडियो सामग्र र सामाजिक सञ्जालको प्रयोग प्रभावकारी बनेको बताए ।