भारतद्वारा टेष्ट सिरिजमा कब्जा, न्युजिल्यान्ड ३७२ रनले पराजित

301
  • युद्ध मेवाहाङ

काठमाडौँ । टेष्ट च्याम्पियनसीप अन्तर्गत न्युजिल्यान्डविरुद्धको दोस्रो टेष्टमा भारत विजयी भएको छ । सोमबार न्युजिल्यान्डलाई १६७ रनमा समेट्दै ३७२ रनको फराकिलो जित हात पारेको हो । २ खेलकाे टेष्ट सिरिजमा भारतले १–० ले कब्जा जमाएकाे हाे । पहिलाे टेष्ट ड्र भएकाे थियाे ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका रविचन्द्रन आश्विन र जयन्त यादवले समान ४–४ विकेट लिए । यस्तै, अक्षर पटेलले १ विकेट हात पारे ।

मुम्बइस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले पहिलो इनिङ्समा ३२५ रन बनाएको थियो । भारतका लागि ओपनर मयंक अग्रवालले १५० रनको शतकीय योगदान दिए । यस्तै, अक्षर पटेलले ५२, शुभमन गिलले ४४ तथा ऋद्धिमान साहले २७ र जोडे ।

पहिलो इनिङ्समा न्युजिल्यान्डका अजाज पटेलले भारतका सबै १० विकेट हात पारे । भारतका सबै ब्याटरलाई आउट गरेका पटेलले विश्व कीर्तिमान बनाए । टेष्ट क्रिकेटकमा इंग्ल्यान्डका जिम लेकर र भारतीय स्पिनर अनिल कुम्बलेपछि उनी १० विकेट लिने तेस्रो खेलाडी बने ।

पहिलो पारीमा २६२ रनको अग्रता लिएको भारतले दोस्रो इनिङ्समा ७ विकेटको क्षतिमा २७६ रन बनाउँदा पारी समाप्तीको घोषणा गर्दै न्युजिल्यान्डलाई ५४० रनको लक्ष्य दिएको थियो ।

दोस्रो पारीमा ओपन अग्रवालले सर्वाधिक ६२ रनको योगदान दिए । यस्तै, चेतेश्वर पुजारा र गिलले समान ४७ रन बनाउँदा अक्षर पटेलले ४१ तथा कप्तान विराट कोहलीले ३६ रन बनाए ।

५४० रनको विशाल लक्ष्य पच्छाएको पाहुना टोली न्युजिल्यान्डले दोस्रो पारीमा १६७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका डेरिल मिचेलले ६०, हेन्री निकोल्सले ४४, विल योङले २० तथा रचिन रविन्द्रले १८ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय मात्रामा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डले पहिलो पारीमा मात्र ६२ रन बनाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...