काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खिनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र देशमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका हुन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि देशमा पुनःनिर्माण र नवनिर्माणका काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए ।
ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माणका काम देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएका पनि दोहोर्याए । उनले अब देशको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आउँदो निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।
अध्यक्ष ओलीले देश निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरे । “चुनाव हुन ढिलै भए पनि एक वर्ष लाग्छ । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसको सरकार बन्छ ? त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो,” उनले भने ।
अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काइ दिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए ।
उनले अघिल्लो पटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दाबी समेत गरे ।