एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग दलहरुबीच सहमतिका आधारमा हुन्छ : प्रचण्ड

210

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषयमा गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पारेका छन् । महाअभियो र एमसीसी प्रकरणले सत्ता भत्किने आशंका भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वानसमेत गरे ।

चितवनमा आयोजित माओवादीनिकट प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने,“एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद् बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किँदैन ।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरुले अझै पनि प्राप्त उपलब्धिहरुलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका छन् । “खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक जित्यौँ । तर, गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन् । प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन् । हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौँ । तपाईंहरु पनि रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला ।”

विश्वभर पराजित शक्तिले पुनःस्थापित हुनका षड्यन्त्र गर्ने पाइएको बताउँदै उनले नेपालमा पनि निरंकुश राजतन्त्रको अन्त्य भएपछि यो कुरा देखिएको जिकिर गरे । उनले प्राप्त उपलब्धिहरुलाई प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुको हमलाबाट बचाउन प्रेस सुदृढ हुन आवश्यक रहेको पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...