एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ : युवराज ज्ञवाली

244
  • युद्ध मेवाहाङ

काठमाडौँ । नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । उनले १०औँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको पनि बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने बताए ।

“नेपालको इतिहासमा यति धेरै जनसहभागिता कुै पनि पार्टीको कार्यक्रममा भएको थिएन । मैले सबै दलका महाधिवेशन, अधिवेशन, आमसभा हेरेको छु । यसपटकको हाम्रो अधिवेशनमा पाँच लाख जनता उतार्ने योजना थियो । तर, त्योभन्दा पनि धेरै जनसमुदायको उपस्थितिमा हाम्रो उद्घाटन सम्पन्न भयो । एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो अवस्थामा छ । जनसहभागिताको हिसाबले १०औँ महाधिवेशन ऐतिहासिक भयो,” उनले भने,“इतिहासमै कुनै पार्टीले यत्रो जनसमुदायको उपस्थितिमा कार्यक्रम गरेको थिएन । अहिले पनि एमाले संसद्मा सबैभन्दा ठुलो पार्टी छ । आउने दिनमा पनि यो पार्टीले बहुमत ल्याउने कुरा स्थापित भइसकेको छ । यो कुरा चितवनको जनसभाले पुष्टि भयो ।”

उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकता रहेको औँल्याए । उनले भने,“हामीले नेकपाको एकता बचाउँन सकेनौँ । अब एकले अर्कालाई आरोपित गरेर मात्रै हुँदैन । अब एउटा नेतालाई मात्रै दोष दिएर हुँदैन । एकता बचाउन नसक्नुमा सबैको दोष छ । जनमत किन टिकाउन सकेनौँ ? भनेर आत्मसमीक्षा गर्नुपर्छ । विगतका कुरा आरोपित गनुहुँदैन । फेरि पनि वामपन्थीहरु र कम्युनिस्टहरुका बीचको एकता आवश्यक छ । सबै पार्टीका नेता तथा कार्यकर्ताहरुले सकरात्मक रुपले सोच्नुपर्छ ।”

उनले एमाले अब सशक्त भएर अघि बढ्न पनि दाबी गरे । उपाध्यक्ष ज्ञवालीले महाधिवेशनमा कतिपय छुटेकालाई १० प्रतिशत मनोनिततर्फ ल्याउने जानकारी दिए । “यो महाधिवेशनमा कतिपय छुटेकालाई १० प्रतिशत मनोनिततर्फ ल्याउँछौँ । आउनैपर्ने साथीहरु आउनुहुन्छ । नेतृत्वले गम्भीर रुपमा ध्यान पुर्याउने छ ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...