कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि मात्रै हुने

322

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरिएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

“आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरुको जिल्ला कार्य समितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ । यी जिल्लाको अधिवेशन अब १४औँ महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

जिल्लाहरुको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धाण गर्ने छ ।

कांग्रेसले बिहीबार ७ वटै प्रदेशको अधिवेशन सुरु गर्दै छ । दिउँसो २ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक सातै प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौँमा सुरु हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...